जरा र बोक्रा काटेर सुकाइन्छ सालको रुख

0
SHARES
11
VIEWS

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने लालझाडी गाउँपालिका–६ को गाउँ । यहाँ सालका रूख मनग्य छन् । तर अचम्म, धेरैवटा सुकेका देखिन्छन् । धान लगाएका खेत वरपर सालका खडा रूख आफैं कुनै रोगले सुकेका होइनन् । स्थानीयले नै जानाजान सुकाउनले गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँंगै जोडिएको हरियाली मध्यवर्ती सामुदायिक वनछेउका सुकाइएका रूखहरू । तस्बिर स् भवानीरकान्तिपुर

रूख सुक्दै गएको छ, त्यसको मुनि धानबाली हराभरा देखिन्छ । निकुञ्जको हरियाली मध्यवर्ती सामुदायिक वन छेउकै खेतमा सालका सयौं रूखहरू सुकेका छन् । स्थानीयवासी भने पुराना भएकाले रूख आफैं सुकेको भन्न छाड्दैनन् । संरक्षणकर्मीहरूका अनुसार स्थानीयले नै सुरुमा फेदका बोक्रा निकाल्ने, पछि बिस्तारै जरा काटने गरेर रूख सुकाउने गरेका छन् । १ सय ५९ हेक्टर क्षेत्रफलमा रहेको हरियाली मध्यवर्ती सामुदायिक वन छेउमै आवादी क्षेत्र बढी भएका कारण हरिया रूखहरू सुकाएको पाइएका छन् ।

 

निकुञ्जसँगै जोडिएको मध्यवर्ती वन छेउका अग्ला रूखहरू सुकाउँदै जाँदा वनक्षेत्र मासिने जोखिम बढेको छ । मध्यवर्ती सामुदायिक वन छेउका अधिकांश खेतमा ठुल्ठूला सालका रूखहरू सुकेका सहजै देख्न सकिन्छ । ‘केही आफैं सुके, केही बोक्रा निकालेपछि सुके,’ स्थानीय अर्जुन बोहराले भने, ‘खेतमा रहेका सबै रूख सुकेर गए ।’

त्यहाँका रूख बिरुवाहरू केही वर्षअघिसम्म हरिया नै रहेको शोभाताल मध्यवर्ती उपभोक्ता समूहकी अध्यक्ष मीना चौधरीले बताइन् । उनका अनुसार स्थानीयले विभिन्न उपायले रूखहरू सुकाएका हुन् । रूख सुकेको मध्यवर्ती सामुदायिक वन शोभाताल उपभोक्ता समुहअन्तर्गत पर्छ । ‘खनजोत गर्नै जरा काट्ने अनि फेदमा बोक्रा काटेपछि रूख त आफैं सुकिहाल्छ,’ चौधरीले भनिन्, ‘स्थानीयले खेतीपाती गर्ने ठाउँमा जानीजानी रूख सुकाएका हुन् ।’ निकुञ्ज किनारमा खेतमा रहेका अधिकांश रूख सुकेका छन् । ती सुकेका रूखहरू रातारात गायब हुने गरेका छन् ।

चान्देव क्षेत्र हात्तीको परम्परागत मार्ग पनि हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट लालझाडी मोहना संरक्षित क्षेत्रसम्म पुग्ने हात्तीको परम्परागत मार्गका रूपमा चिनिन्छ । उक्त क्षेत्रमा निकुञ्ज किनारका रूखहरू सुकाइँदा हात्तीको मार्ग बिथोलिने संकेत देखिएको छ । केही वर्षयता चान्देव क्षेत्रमा हात्तीको आतंक बढ्दै गएको छ । खेतीपाती नास गर्नुका साथै हात्तीले धनजनको समेत क्षति पुर्‍याउँदै आएको छ । एकातर्फ वन क्षेत्र मासिँदै जानु र अर्कोतर्फ हात्तीको मार्गमा बाक्लो बस्ती विस्तार हुँदै जाँदा द्वन्द्व बढ्दै गएको संरक्षणकर्मीहरू बताउँछन् ।

 

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट लालझाडी मोहना संरक्षित क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म हात्ती पुग्ने गर्छन् । ती हात्ती शुक्लाफाँटाबाट भारतकै पिलिभित टाइगर रिजर्भसम्म पुगेर सोही मार्ग फर्किने गर्छन् । निकुञ्ज क्षेत्रमा मात्रै होइन अन्य वनमा पनि बस्ती नजिकका रूखहरू यसैगरी सुकाइन्छ ।

सुरुमा सुकाउने र पछि रूख नै गायब हुने गरेको छ । चुरे फेदीदेखि लालझाडी मोहना संरक्षित क्षेत्रलगायत विभिन्न सामुदायिक वनमा यसैगरी रूखहरू सुकाउने चलन बढेको छ । स्थानीयले खनजोतमा अप्ठेरो हुने भएकाले पनि यस्तो गर्ने गरेका हुन् । अर्कोतर्फ काठको तस्करी समेत हुने गरेको हो । लालझाडी मोहना संरक्षित क्षेत्रमा पनि बस्ती नजिकका रूखहरू ठूलो संख्यामा सुकाएको पाइन्छ कान्तीपुरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित