विभाग र मन्त्रालयसँग सुरक्षा माग…तस्करी नियन्त्रण गर्न खोज्दा कर्मचारीमाथि नै आक्रमण

0
SHARES
4
VIEWS

विराटनगर भन्सार नाका र आसपासमा तस्कर नियन्त्रण गर्न पुगेका भन्सारका कर्मचारीलाई तस्कर समूहले आक्रमण गरेको छ । २३ मंसिरको राति विराटनगर–जोगबनी भन्सार नाकामा तस्करी भइरहेको सूचनाका आधारमा अनुगमन गर्न गएको टोलीलाई तस्कर समूहले ज्यान मार्ने धम्की दिँदै ढुंगामुढासहित आक्रमण गरेको विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार भन्सार क्षेत्रमा रहेको ३ नं ढाटमा १५–२० जनाको समूहले भारतको जोगबनी बजारबाट भन्सार छली ल्याएका मालवस्तु प्रहरीकै अगाडि गाडीमा लोड गरेर तस्करी गर्दै आएका थिए । उक्त सूचनाका आधारमा भन्सार अधिकृतको टोली शुक्रबार राति मालवस्तु पक्राउ गर्न पुगेको थियो । तर, तस्कर समूहले ज्यान मार्ने धम्की दिँदै आक्रमण गर्नुका साथै कर्मचारीले नियन्त्रणमा लिएका मालवस्तु पनि खोसेर लगेको उनको भनाइ छ । प्रहरीले भने मध्य राति समन्वय नगरी भन्सार कर्मचारीहरू आफूखुसी मालवस्तु पक्राउ गर्न जाँदा तस्करहरूले लखेटेको हुन सक्ने बताएको छ ।

मोरङका एसपी शान्तिराज कोइरालाले भने, ‘प्रहरीले तस्करी नियन्त्रण गर्ने निरन्तर प्रयास गरिरहेको छ, खुला सिमाना भएकाले सधैँ ठप्पै पार्न सकिएको छैन, भन्सार कर्मचारीहरू समन्वय गरेर गएको भए घटना हुन पाउने थिएन ।’ उक्त घटनापछि तस्करी नियन्त्रण गर्न आइतबार प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको निर्देशनमा राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठले भन्सार क्षेत्र र आसपासका नाकाबाट हुँदै आएको चोरी–पैठारी नियन्त्रण गर्न कडाइ गर्ने निर्णय गरेको छ ।

कर्मचारी असुरक्षित बनेको भन्दै विभाग र मन्त्रालयसँग सुरक्षा माग

तस्कर समूहले ज्यान मार्ने धम्की दिँदै ढुंगामुढा गरेपछि असुरक्षित भएको भन्दै विराटनगर भन्सारका कर्मचारीले विभाग र मन्त्रालयसँग सुरक्षा माग गरेको छ । प्रहरीकै अगाडि खुलेआम हुँदै आएको तस्करी रोक्न खोज्दा प्रहरीले असहयोग गरेको र तस्करहरूबाट ढुंगामुढासहित कुटपिट गरी नियन्त्रणमा लिएको मालवस्तुसमेत खोसेर लगेका कारण भन्सार कर्मचारी निरीह र असुरक्षित बनेको भन्दै प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले शान्ति सुरक्षाको व्यवस्था मिलाउन र तस्करी नियन्त्रण गर्न विभाग र मन्त्रालयसँग पत्रमार्फत माग गरेको हो ।

प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले २४ मंसिरमा विज्ञप्ति जारी गर्दै प्रहरीकै अगाडि सिसी क्यामराको निगरानीमै भन्सार क्षेत्रबाट हुँदै आएको तस्करी रोक्न खोज्दा तस्कर समूहले कर्मचारीमाथि ढुंगामुढासहित ज्यान मार्ने धम्की दिने र कुटपिट गर्ने कार्य भएको उल्लेख गरेको छ । उनका अनुसार विराटनगर भन्सार कार्यालयको ३ नं गेटअगाडि हुँदै भारतको जोगबनीबाट राति तस्करहरूले सीमा प्रहरीचौकी रानीकै अगाडि सवारीसाधनमा मालवस्तु लोड गरेर खुलेआम तस्करी गर्दै आएको थियो ।

विराटनगर–जोगबनी भन्सार नाकामा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलग–अलग टोली छ । भन्सार क्षेत्रमा सीमा प्रहरी चौकी छ भने एक किलोमिटर उत्तरमा इलाका प्रहरी रानीको कार्यालय छ । यसैगरी, दशगजानजिकै सशस्त्र प्रहरीको सुरक्षा बल र पोस्ट छ भने आइसिपी क्षेत्रमा बेसक्याम्प पनि छ । यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोबाइल र पिकेट गस्ती पनि हुँदै आएको छ ।nayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार