‘प्रधानमन्त्री’ चर्चाका ‘कोप्चे बाबा’

0
SHARES
17
VIEWS

केही साथीहरू रवि लामिछानेलाई प्रधानमन्त्री बनाउँछौँ भनेर लागेका छन् । रवि लामिछाने आफै पनि अब पुराना नेताहरू आराम गर्नुहोस् मलाई प्रधानमन्त्री बन्न सिंहदरबार जान दिनुहोस् भन्दै छन् । यो सुनेर रमाइलो लागेको छ । यो हल्लाको देश हो । हल्ला गर्न सबैलाई छुट छ ।

केही वर्ष पहिलेको कुरा हो सिक्किमको कुनै कोप्चे नाउँको गाउँमा एक जना बाबा बस्ने गर्थे । उनलाई कोप्चेका बाबा भनेर चिनिन थालियो । ती बाबाले सबै प्रकारका रोग निको पारिदिन्छन् भनेर यता नेपालको काकरभिट्टाको नाकाबाट समेत धेरै मानिस लर्को लागेर गएको देखेको थिएँ । डाक्टर, वैद्य, विशेषज्ञ हेरेका हेरै । यो रोग उ रोग होइन सबै रोग निको पार्ने गरेका थिए रे । जानेहरू फर्केर आएपछि लाज पचाउन हो कि किन हो मेरो त निको भयो भन्थे । त्यो सुनेको पत्याउनेको लर्को केही समय राम्रै लाग्यो । पछि लर्को रोकियो । ती कोप्चेका बाबा के गर्दै छन् को नि ? अहिले कोही कोप्चेका बाबा भेट्न म पनि गएको थिएँ भन्न रुचाउँदैनन् । बरु लजाउँछन् ।

रवि लामिछाने नेपालका नाम चलेका टेलिभिजन पत्रकार हुन् । पत्रकारको हैसियतले उनले दबिएका, दबाइएका धेरै विषयहरूको उत्खनन र उठान गरे । ती विषयहरू चर्चित भए । रवि लामिछानेको कार्यक्रम हेर्न र सुन्न मानिसले उत्सुकता देखाए । उनी चर्चित भए । उनका धेरै ‘फ्यान’ समर्थक भए । उनले टेलिभिजनमा मात्रै होइन सामाजिक सञ्जालमा पनि राम्रै ‘स्पेस’ ठाउँ बनाए । प्रविधिले पनि सहयोग गर्‍यो । भ्याउनेले टेलिभिजनमा हेरे नभ्याउनेले आफूलाई अनुकूल समयमा सामाजिक सञ्जालमा हेरे । देशमा बस्नेले हेरे, विदेशमा बस्नेले हेरे । उनको फेसबुक पेजमा लाखौँ ‘फलोअर’ भए । लाईक र कमेन्टको बाढी नै आयो । उनले उठान गरेका विषयले मानिसको मन छोयो । उनी चर्चित भए । यद्यपि उनी विवाद रहित भने भएनन् । व्यक्तिगत र पारिवारिक जीवनमा भएका घटना सामाजिक सञ्जालमा छताछुल्ल भए । उनले उठान गरेका कति विषयमा प्रश्न पनि उठाइयो । यहाँसम्म धेरै अस्वाभाविक केही छैन ।

रवि लामिछानेलाई यो सफलताले हौस्याएर राजनीतिमा छलाङ मार्ने सोच पलाएछ । उनले पार्टी दर्ता गरे । चुनाव चिन्ह पाए र देश दौडाहामा निस्किएका छन् । यहाँसम्म पनि ठिकै छ । बहुदलीय व्यवस्थामा हरेक नागरिकलाई यो अधिकार छ ।

सामाजिक सञ्जालमा लाइक र कमेन्ट गर्ने लाखौँ फलोअरले उनलाई पत्रकारितामा सफल बनाएको हो तर त्यो सफलता राजनीतिमा जस्ताको त्यस्तै रूपान्तरण गर्न सकिन्छ भनेर सोच्नु अलिक सुहाउँदैन । पत्रकारितामा उनी प्रश्न सोध्ने ठाउँमा थिए । उनले सोधेको प्रश्नलाई धेरैले मन पराए तर राजनीतिमा उनी जवाफ दिने ठाउँमा छन् । उनको जवाफ कतिले मन पराउलान् त्यो हेर्न बाँकी छ । अहिलेसम्म त उनले कुनै प्रश्नको जवाफ दिएका छैनन् । जस्तै राजनीतिमा विचार हुन्छ, दर्शन हुन्छ, आर्थिक नीति हुन्छ, धार्मिक नीति हुन्छ, वैदेशिक नीति हुन्छ, जल्दा बल्दा सामाजिक मुद्दाहरू हुन्छन् । नेपालको सन्दर्भमा राजतन्त्र चाहिन्छ भन्ने पार्टी पनि छन् ।

यद्यपि त्यो संविधान संवत् छैन । तर पनि त्यो विचार छ । यी र यस्ता तमाम विषयमा राजनीतिक पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्छ । पार्टीको सङ्गठनको स्वरूप कस्तो हुन्छ ? नेपाल जस्तो बहुभाषा, बहुजाती, बहुधर्म, बहुसंस्कृति भएको मुलुकमा राजनीतिक दलको सङ्गठन स्वरूप कस्तो हुन्छ । त्यो सङ्गठनमा सबैले आफ्नो अनुहार, धर्म, जात, पेसा, भाषा, संस्कृति आदि भेट्टाउँछन् कि भेट्टाउँदैनन् ? त्यो सार्वजनिक भएपछि थाहा होला । अहिलेसम्म त न विचार, न दर्शन, न सिद्धान्त, न आर्थिक कार्यक्रम, न सामाजिक कार्यक्रम, न विकासको कुनै भरपर्दो खाका, न सङ्गठनको ढाँचा केही छैन । रवि लामिछाने छन् र उनको अघिपछि दौडने केही मानिस । कार्यक्रम स्थलमा देखिने सबै मानिस उनका समर्थक भनेर बुझ्नु पनि बेठिक हुन्छ । सुन्न, बुझ्न, हेर्न जो सुकैको कार्यक्रममा जो पनि जान्छन् ।

जनताले हाल भइरहेका स्थापित पार्टीहरूभन्दा भिन्न चरित्र, भिन्न सोच, भिन्न व्यवहारको पार्टी र व्यक्ति खोजेको कुरा सत्य हो । तर त्यो भरोसायोग्य, विश्वासिलो, पत्यारिलो हुन आवश्यक छ । त्यो शङ्काको सुविधा एक पटक नेपाली जनताले माओवादी पार्टीलाई दिएका थिए । त्यो पनि हेरियो । भन्ने ठाउँमा पुगे र उ कुनै समयको पहिलो पार्टी अहिले अरूको टेकोमा तेस्रोसम्म हुन सकेको छ । टेको नभए के हुन्छ भन्न सकिन्न ।

रवि लामिछानेको पार्टीले अहिले देशमा जुन दौडाहाको कार्यक्रम चलाइरहेको छ पहिला त्यो दौडाहामा हुने खर्चको श्रोत के हो त्यो सार्वजनिक गर्नुपर्छ । नत्र अरु पार्टी र रविको पार्टीमा के फरक भयो र ? देशमा पहिले पार्टीहरू कार्यकर्ताको पैसा र केही चन्दादाताको चन्दाले चलेका थिए । अहिले पार्टीमा चन्दादाता पनि छैनन् र कार्यकर्ताले पनि पैसा दिन छाडेका छन् । अहिले पार्टीको खर्च चलाउने लगानीकर्ता भेटिन्छन् । यस्ता लगानीकर्ता देश भित्रका नबधनाढ्यहरु र विदेशका हुन्छन् भन्ने सबैलाई थाहा छ । पार्टीमा लगानी गर्नेले लगानी उठाउने गर्छन् । त्यो पनि सबैलाई थाहा छ । अब रविको पार्टीले पनि भन्नुपर्छ मात्रै होइन प्रमाणित गर्नुपर्छ जनताले पत्याउने गरी तपाईँको पार्टीको श्रोत के हो ? खर्च कहाँ कहाँ कति भयो ? यो हिसाबमा चित्त बुझ्यो भने तपाईँलाई जनताले पार्टी चलाउने चन्दा दिन सक्छन् । तपाईँका कार्यकर्ताले त्यो श्रोतको परिचालन कसरी र के मा गर्छन् त्यो पनि हेरिन्छ ।

अब अलिकति सम्भावना तिर हेरौँ । रवि लामिछाने प्रधानमन्त्री बन्न उनले संसद्मा बहुमत ल्याउनुपर्छ । नेपालको संविधान अनुसार देशको प्रधानमन्त्री जनताले होइन प्रतिनिधिसभाले बनाउने गर्छ । प्रतिनिधिसभामा जसको बहुमत हुन्छ उसैले प्रधानमन्त्री बन्ने अवसर पाउँछ । प्रधानमन्त्रीमा चुनिन प्रत्यक्ष निर्वाचन जितेको हुनुपर्छ । रवि लामिछानेको पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेर राजनीतिको कखरा बुझ्ने कसैले कल्पना गर्दैन । अँ, रवि लामिछाने कुन क्षेत्रबाट चुनाव लड्छन् र उनले चुनाव जित्छन् कि जित्दैनन् भन्ने चासोचाहिँ सबैलाई हुन्छ । मलाई पनि छ । चुनाव जित्न जुन निर्वाचन क्षेत्रमा उम्मेदवार हुने हो त्यहीको मतदाताले मत हाल्नुपर्छ । त्यही क्षेत्रमा पाएको मतमा पहिलो हुनेले जित्ने हो ।

फेसबुक पेजमा मैले एक जना रविका पार्टीका कार्यकर्तालाई सोधेको थिएँ रवि लामिछाने कुन क्षेत्रबाट चुनाव उठ्छन् होला भनेर उनले लेखे देशको जुनसुकै क्षेत्रबाट उठे पनि जिताउँछौँ । उनको विश्वासलाई सलाम छ । तर यथार्थ त्यस्तो हुँदैन । सामाजिक सञ्जालमा भएका लाखौँ समर्थक सबै जना मतदाता नहुन सक्छन् । मतदाता नै भए पनि ती एउटै क्षेत्रका हुँदै होइनन् । अरूले गएर त्यहाँ भोट हाल्न मिल्दैन । रविको पार्टीको कार्यक्रम सार्वजनिक भएपछि कतिले छाड्ने हुन् त्यो हेर्न बाकी नै छ । रविले दिएका जवाफले कतिको मन जित्ने हो त्यो पनि हेर्न बाँकी छ । किनकि उनी जवाफ दिने ठाउँमा उभिए पनि जवाफ दिन सुरु गरेका छैनन् । नेपाली मतदाताको मानसिकतामा जसले चुनाव जित्छ उसैलाई दिने सोच निकै हाबी छ । जुन पार्टी ठुलो हुन्छ उसैलाई भोट दिने सोच निकै हाबी छ । यस्तोमा रवि लामिछानेलाई नै चुनाव जित्न हम्मे पर्छ भन्ने मेरो ठम्याई हो । प्रधानमन्त्रीको कुर्सीमा पुग्नु त धेरै लामो यात्रा गर्नुपर्छ । त्यो भर्खर सुरु भएको मान्न सकिन्छ । सबै यात्रा गन्तव्यमा पुग्छ नै भन्ने छैन । गन्तव्यमा पुगेर पनि जनताको विश्वास जित्न सजिलो छैन भन्ने त देखि सकियो ।

राजनीति गर्नु अति उत्तम सेवा कार्य हो । राजनीति गर्ने मानिस महान् हुन् । तर राजनीतिमा व्यापार होइन सेवा मात्रै हुनुपर्छ । राजनीति बाहेकका धेरै क्षेत्रका मानिस पनि राष्ट्रका महान् हुन् । जस्तै खेलाडी, कलाकार, पत्रकार, वैज्ञानिक, विद्वान, उद्यमी, व्यवसायी, विभिन्न विधाका विज्ञ आदि ।

सबैले राजनीतिमा आउन चाहनु राम्रो भए पनि अनिवार्य छैन । एउटा क्षेत्रमा सफल मानिस अर्को क्षेत्रमा पनि सफल नै हुन्छ भन्ने हुँदैन । धुर्मुस र सुन्तली उम्दा कलाकार हुन् । समाज सेवामा आउँदा उनीहरु समस्यामा परेका छन् । रवीन्द्र मिश्र सफल पत्रकार हुन तर राजनीतिमा सफल भएनन् । अब परीक्षण हुने पालोमा रवि लामिछाने परेका छन् । हेरौँ chakrapat

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित