नेपालमा कानको उपचार गर्न बेलायतमा विज्ञापन

0
SHARES
14
VIEWS

नेपालको पहिलो अस्पताल वीर अस्पतालको स्थापना आजभन्दा एक सय ३२ वर्षअघि सन् १८९० मा भएको थियो। प्रधानमन्त्री वीरशमशेरको पालामा नेपालमा अस्पताल खुले भए पनि त्यसको पाँच वर्षअघि अर्थात् सन् १८८५ मा रणोदीप सिंहका पालामा नेपालले डाक्टरको माग गरेर एउटा विज्ञापन छापिएको थियो।

नेपालमा अस्पताल खुल्नुअगावैको त्यो विज्ञापन कुनै अस्पतालका लागि नभई एक जना कानको बिरामीको उपचार गर्न माग गरिएको थियो। त्यो विज्ञापन अलिक अनौठो थियो। अनौठो यस मानेमा किनकि त्यसमा उपचारको ग्यारेन्टीसहित डाक्टरको खोजी गरिएको थियो। त्यसको शीर्षकमा ‘उपचार सफल नभए पारिश्रमिक नदिइने’ स्पष्ट पारिएको थियो।

भारतको इलाहाबादबाट प्रकाशित हुने ‘पायोनियर’ पत्रिकाको सन् १८८५ जनवरी २४ को अंकमा छापिएको त्यो विज्ञापन पछि ‘इन्डियन मेडिकल जर्नल’ हुँदै अप्रिल ४ मा लन्डनबाट प्रकाशित हुने ‘ब्रिटिस मेडिकल जर्नल’मा समेत छापिएको थियो।

सो विज्ञापन ‘ब्रिटिस मेडिकल जर्नल’को आर्काइभमा अहिले पनि छ। त्यही स्रोतका आधारमा यो लेख तयार पारिएको हो।

नेपालले त्यतिबेला कानको उपचार गर्ने फिजिसियन डाक्टरको खोजी गरेको थियो। विज्ञापनमा उल्लेख गरिएको योग्यता र सर्त मञ्जुर गर्ने डाक्टरले प्रधानमन्त्री रणोदीप सिंहका निजी सचिव बलवान सिंहका नाममा आफ्नो विवरण पठाउनु भन्ने उल्लेख छ। यहीबाट नेपालमा सर्वेसर्वा रहेका प्रधानमन्त्री कार्यालयबाट विज्ञापन जारी भएको थियो भन्ने थाहा पाइन्छ।

विज्ञापनमा थप विवरण नभएकाले त्यो बिरामी को थियो भन्ने जानकारी पाउन सकिएन। तर विज्ञापन प्रधानमन्त्री कार्यालयबाट जारी हुनुले बिरामी प्रधानमन्त्रीको परिवार वा राजपरिवारभित्रकै कोही थियो भन्ने अनुमान गर्न सकिन्छ।

हुन त त्यतिबेला प्रधानमन्त्री रणोदीप सिंहपछिको वरीयतामा रहेका प्रधानसेनापति जितजंग कुँवर पनि कानका बिमारी थिए।

राणाकालीन व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने गर्थे। सबै काम प्रधानमन्त्रीमार्फत हुन्थ्यो। प्रधानमन्त्रीबाहेक अरू कसैले पनि विदेशी अखबारमा आफ्ना लागि त्यस्ता विज्ञापन गर्न निकै कठिन थियो। जितजंग कानका बिमारी र त्यही कानको कारणलाई देखाएर भारततर्फ जान लागेपछि प्रधानमन्त्रीले आफ्नो साथ नछोडून् भनेर उनका लागि पो डाक्टर खोजिदिएका हुन किरु यी सबै अनुमान मात्र हुन्।

त्यससँग सम्बन्धित प्रमाण फेला नपरेसम्म कसका लागि त्यो विज्ञापन गरिएको थियो भन्ने थाहा हुन सक्दैन। त्यही वर्ष १८८५ नोभेम्बर २१ मा प्रधानमन्त्री रणोदीपलाई उनका निजी सचिव बलवान सिंहले पत्रिका पढेर सुनाउन लागेकै बखत शमशेर खलकले गोली प्रहार गरी उनको हत्या गरेका थिए।

प्रधानमन्त्रीमाथि गोली प्रहार गर्नासाथ थरथर कामेका बलवानलाई खड्गशमशेरले ‘तिमी किन डराएको, आऊ मद्दत गररु’ भनेका कारण उनले पनि खड्ग, भीम र डम्बरशमशेर सँगै रणोदीपको मृत शरीर बाहिर निकाल्न मद्दत गरेका थिए। ९श्री ३ हरूको तथ्य वृत्तान्त भाग–१, पुरुषोत्तमशमशेर जबरा०

बलवान सिंह रणोदीपपछि प्रधानमन्त्री भएका वीरशमशेरका पनि निजी सचिव बनेका थिए। प्रधानमन्त्री जंगबहादुर राणाको पालादेखि नै बलवान सिंह प्रधानमन्त्रीको परराष्ट्र र निजी सचिव थिए। लेख्दा निजी सचिव लेखिए पनि उनी प्रधानमन्त्रीका परराष्ट्र सचिव पनि थिए। बलवान सिंहको निधनपछि उनका छोरा मरीचिमान सिंहले समेत तीन जना प्रधानमन्त्री चन्द्रशमशेर, भीमशमशेर तथा जुद्धशमशेरका परराष्ट्र र निजी सचिवका रूपमा काम गरेका थिए।

यस्तो थियो विज्ञापन

‘एउटा अनुभवी डाक्टर, जसले कानका सबै प्रकारका रोगबारे जान्दछ, नेपालमा एउटा त्यस्तै बिरामीको उपचार गर्ने जिम्मेवारीका लागि चाहिएको छ।

जुन बिरामीको एउटा कानबाट धेरै वर्षसम्म पिप निस्किएका कारण त्यो कान अब पूर्ण रूपमा बन्द भएको छ। तर अर्को कान भने आंशिक रूपमा मात्र प्रभावित भएको छ।

कुनै डाक्टरले यस्तो बिरामीको सफलतापूर्वक उपचार गर्न सक्यो भयो भने उसलाई १५ हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरिनेछ। तर उसले बिरामीलाई कुनै राहत दिन सकेन भने उसलाई केही पनि दिइनेछैन।

उल्लिखित प्रकृतिको घटनामा उल्लेखित सर्तबमोजिम यदि कुनै डाक्टर नेपाल आउन सहमत छन् भने उनीहरूले आफ्नो प्रमाणपत्रसहितको निवेदन काठमाडौँ नेपालमा प्रधानमन्त्रीका निजी सचिव मीर सुब्बा बलवान सिंहसमक्ष पठाउन अनुरोध छ। ९ब्रिटिस मेडिकल जर्नल, ०४ अप्रिल १८९५०   ,,, HIMAL प्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित