हुलाकबाट गाँजा तस्करी

0
SHARES
6
VIEWS

सेवाग्राहीको प्राथमिकतामा पर्न छाडेपछि अस्तित्वको संकटबाट गुज्रिरहेको गोश्वारा हुलाक अमेरिकी गाँजा तस्करीको ‘प्लाटफर्म’

समयानुकूल ‘अपग्रेड’ हुन नसकेपछि गोश्वारा हुलाक यतिवेला सेवाग्राहीको प्राथमिकतामा पर्दैन । करिब–करिब अस्तित्वको संकटबाट गुज्रिरहेको हुलाक सेवालाई लागुऔषध तस्करले भने ‘गुड बुक’मा राख्ने गरेको देखिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकले नै यसलाई पुष्टि गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियाबाट डिल्लीबजार गोश्वारा हुलाक हुँदै गत २० भदौमा तस्करी भएर आएको दुई किलो गाँजासहित काभ्रे मन्डनदेउपुर नगरपालिका– ७ का २८ वर्षीय मनोज राई, काठमाडौं खुसिबुनिवासी ३० वर्षीय राहुल क्षेत्री र काठमाडौं नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठ पक्राउ परे । गोश्वारा हुलाकबाट अमेरिकी गाँजा नेपाल आएको घटनामाथि प्रहरी गहिरो अनुसन्धानमा लाग्यो । यसै क्रममा मनोज राईकै नाममा क्यालिफोर्नियाबाटै पुनः अर्को पार्सल आइपुग्यो । पार्सलभित्र सर्ट, जिन्स पाइन्ट, जोली रेन्चर र केही म्यागेजिन थिए । जब प्रहरीले एक–एक गर्दै कपडा टक्टक्यायो, त्यहाँ एक किलो तीन सय ३० ग्राम गाँजा पनि भेटियो ।

यसअघि ४ कात्तिक ०७६ मा अमेरिकाबाटै तस्करी गरेर ११ किलो दुई सय ग्राम गाँजा र चरेस नेपाल भित्र्याइएको थियो । त्यतिवेला पनि तस्करले हुलाक नै प्रयोग गरेका थिए । फ्लाई दुबईको जहाजबाट नेपाल आइपुगेको गाँजा ‘म्युजिक सिस्टम’भित्र लुकाएर ल्याइएको थियो । ‘म्युजिक सिस्टम’ बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काभ्रे पाँचखाल– १० का ३८ वर्षीय अच्युत त्रिपाठी पुगेका थिए । पक्राउ परेका उनको बयानका आधारमा उक्त गाँजा र चरेस ठमेलस्थित डिलाइट होटेलका सञ्चालक राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेले ल्याउन लगाएको खुलेको थियो । त्यसअघि अमेरिकाबाट गाँजा र चरेस तस्करी भएर नेपाल आएको फेला परेको थिएन ।

हुलाक नै प्रयोग गरेर ११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेट नेपाल आइपुग्यो । वीरगन्जका २२ वर्षीय राजशिखर गुप्ताको नाममा पार्सल भई आएको उक्त चकलेट बेलायतबाट पठाइएको थियो । बक्सभित्र गाँजामिश्रित दुई किलो दुई सय ५८ ग्राम तौलबराबरको ‘क्यान्डी’ थियो । प्रहरीले गुप्तालाई चकलेट बुझ्ने क्रममा डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट पक्राउ गर्‍यो । उनको कोठा चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध एम्फेटामाइनबाट बनेका पाँच सय ‘ट्याब्लेट’ फेला पार्‍यो । उक्त लागुऔषध भने जर्मनबाट ल्याइएको खुलेको थियो ।

योगेन्द्रकुमार खड्का प्रवक्ता, लागुऔषध नियन्त्रण ब्युरो

पछिल्ला केही वर्षयता हुलाकमार्फत लागुऔषध तस्करी हुने गरेको अनुसन्धानबाट देखिन्छ । विशेषगरी गाँजा तस्करी भएको छ, त्यो पनि अमेरिकादेखि । यसले एउटा स्वाभाविक प्रश्न के उठाएको छ भने अमेरिकादेखि गाँजा नेपालमा किन आइरहेको छ ? तथ्यमा आधारित उत्तर अझै भेटाउन सकिएको छैन ।

प्रहरीले सुन्धारास्थित तत्कालीन गोश्वारा हुलाक कार्यालयबाट १४ फागुन ०७६ मा तीन किलो दुई सय ४० ग्राम गाँजा बरामद गरेको थियो । उक्त गाँजा क्यानडाबाट पार्सल भई नेपाल आइपुगेको थियो । तस्करले ‘पेडियाट्रिक न्युट्रेसन’को टिनभित्र लुकाएर उक्त गाँजा नेपाल पठाएको थियो । अनुसन्धानपछि उक्त गाँजा पनि अमेरिकी ‘ब्रिड’ (नश्ल)को रहेको खुलेको थियो ।

यी घटनाले पछिल्लो समय लागुऔषध तस्करी गर्न गोश्वारा हुलाकको प्रयोग भइरहेको स्पष्ट पार्छ । लागुऔषध ब्युरोको तथ्यांकअनुसार तीन वर्षयता तस्करले लागुऔषध तस्करी गर्न हुलाक प्रयोग गरेको देखिन्छ । साना–ठूला गरी हुलाकबाट तस्कर हुने लागुऔषधका आठ ‘अप्रेसन’मा प्रहरी संलग्न भयो । जुन सबै गाँजा र चरेससँग सम्बन्धित थिए । तथ्य के भेटियो भने, पाँच ‘अप्रेसन’मा बरामद गाँजा अमेरिकी ‘ब्रिड’का थिए । बाँकी तीन ‘अप्रेसन’मध्ये बेलायत, क्यानडा र नेदरल्यान्डका गाँजा थिए । जसमध्ये अधिकांशको गन्तव्य भारत देखिएको थियो ।

ब्युरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्का लागुऔषध तस्करले पछिल्ला दिन हुलाक प्रयोग गर्ने गरेको विभिन्न घटनाले नै पुष्टि गरेको बताउँछन् । ‘गएको केही वर्षयता हुलाकमार्फत लागुऔषध तस्करी हुने गरेको अनुसन्धानबाट देखिन्छ । यस क्रममा विशेषगरी गाँजा तस्करी भएको छ, त्यो पनि अमेरिकादेखि,’ उनले भने, ‘यसले एउटा स्वाभाविक प्रश्न के उठाएको छ भने अमेरिकादेखि गाँजा नेपालमा किन आइरहेको छ ? तथ्यमा आधारित उत्तर भेटाउन सकिएको छैन ।’

अमेरिकामा गाँजा : प्रतिबन्ध र फुकुवा
गाँजाका दुर्व्यसनी बढ्न थालेपछि अमेरिकाले ५२ वर्षअघि ‘कम्प्रिहेन्सिभ ड्रग एब्युज प्रेभेन्सन कन्ट्रोल एक्ट, १९७०’ ल्यायो । जसले गाँजा उत्पादन, बिक्री र सेवनलाई प्रतिबन्ध लगायो । तर, तीन वर्षपछि अमेरिकाको वरेगन राज्यले गाँजा उत्पादन र बिक्रीलाई खुला गरिदियो । क्यालिफोर्नियाले सन् १९९६ देखि औषधि उत्पादन गर्ने उद्देश्यले गाँजाको खेती सुरु गर्‍यो । कोलोराडो र वासिङ्टन राज्यले त सन् ०१२ देखि ०.३ प्रतिशत टिएचसी रहेको गाँजा सेवनलाई खुला नै गरिदियो ।

अमेरिकाका ४२ राज्यमा अहिले गाँजाखेती निर्वाध हुँदै आएको छ । जसका लागि ठूला–ठूला कम्पनी नै खडा गरिएका छन् । उनीहरूले हाल त्रुुलिभ, क्युरलिफ, जिलिफ, सर्टेरा वेलनेस, कुकिज, क्रेस्को ल्याब्स, डब्लुएलजी सिबिडी, फोरिया, वाना, भोइला, ग्रो, स्टिजी, लोयल हर्व, बटमलाइन ब्रान्डका गाँजा बिक्री गर्दै आएका छन् ।

यसकारण आउँछ अमेरिकी गाँजा

अमेरिकाबाट २० भदौ ०७९ मा गोश्वारा हुलाक कार्यालय डिल्लीबजार आइपुगेको दुई केजी गाँजा । उक्त गाँजा लुकाएको पार्सल बुझेर लैजाने क्रममा काभ्रे मण्डनदेउपुर नगरपालिका– ७ का २८ वर्षीय मनोज राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

लागुऔषध नियन्त्रण ब्युरोले तीन वर्षमा गरेको आठ अप्रेसनमध्ये पाँच अप्रेसनमा बरामद गाँजा अमेरिकी नश्लका थिए । बाँकी तीन बेलायत, क्यानडा र नेदरल्यान्डका थिए । जसमध्ये अधिकांशको गन्तव्य भारत थियो । पूर्वडिआइजी मल्लका अनुसार अमेरिकी गाँजा तस्करी भएर नेपाल आउनुमा अमेरिका बसेर नेपाल फर्किएका दुर्व्यसनी, नेपाल आएका अमेरिकी पर्यटक र तेस्रो मुलुक निर्यात कारण हुन सक्छन् । अमेरिकी गाँजा नेपाल आउनुमा तीनवटा मुख्य कारण देखिन्छ । पहिलो, अमेरिका बसेर नेपाल फर्किएका दुर्व्यसनी नेपाली । उनीहरूमा अमेरिकी गाँजाको लत बसेको हुन सक्छ । त्यस्ता दुर्व्यसनीले अमेरिकी गाँजा मगाएका हुन सक्छन् । दोस्रो, अमेरिकी पर्यटक । नेपाल आउने अमेरिकी पर्यटक बढेका छन् । उनीहरूबाट अमेरिकी गाँजाको माग भएकाले नेपालमा तस्करी भएको हुन सक्छ । र, तेस्रो, गाँजा तस्करले नेपाललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गरेको हुन सक्छ । तेस्रो मुलुक लैजान नेपाललाई प्रयोग गरेको हुन सक्छ ।

के छ अमेरिकी नश्लको गाँजामा ?
११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेटको रासायनिक अनुसन्धान भयो । उक्त चकलेटमा टिएचसी (टेट्राहाइड्रोक्यानाबिनो) नामक रसायन भएको भेटियो । जुन रसायनको सेवनपछि मानिसले ‘कृत्रिम आनन्द’ महसुस गर्छ । यो त्यही रसायन हो, जुन गाँजामा प्रशस्त मात्रामा पाइन्छ । अमेरिकी नश्लको गाँजामा यसको मात्रा अझ धेरै हुन्छ । स्वाद पनि केही नौलो हुन्छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार अमेरिकी गाँजामा डेल्टा– ९ टिएचसीको मात्रा नेपाली गाँजामा भन्दा तीन गुणा धेरै हुन्छ । ‘हाइब्रिड’ गरिएको हुनाले पनि अमेरिकी गाँजामा डेल्टा– ९ टिएचसी धेरै हुने उनको भनाइ छ । ‘नेपाली गाँजा र अमेरिकी गाँजाको नश्ल फरक छ । गाँजामा डेल्टा– ९ टिएचसी रसायन हुन्छ । जुन अमेरिकी गाँजामा नेपालीको भन्दा दुई–तीन गुणा धेरै हुन्छ,’ उनले भने, ‘अर्कोतिर अमेरिकी गाँजा ‘हाइब्रिड’ गरिएका छन् । त्यस्ता गाँजामा डेल्टा– ९ टिएचसी रसायन धेरै हुनु स्वाभाविक हो । जसको सेवनपछि मानिसले कृत्रिम आनन्द अधिक मात्रामा महसुस गर्छ । किनकि यो कडा हुन्छ ।’

नेपालमा गाँजाखेती बहस
लागुऔषध नियन्त्रण ऐन, २०३३ ले गाँजा ओसारपसारमा प्रतिबन्ध लगाएको छ । त्यसैले कानुनविपरीत हुलाकमार्फत गाँजा तस्करी हुनु जघन्य अपराध हो । कानुनतः घटनामा संलग्नविरुद्ध कडा सजाय हुने भएकाले गाँजा तस्करी जोखिमयुक्त भए पनि तस्करहरूले हुलाक सेवा नै प्रयोग गरेका छन् ।

लागुऔषध अनुसन्धान ब्युरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्का तस्करले यो विधि परीक्षण गरिरहेको अनुमान गर्छन् । उनी भन्छन्, ‘थोरै–थोरै परिमाणमा गाँजा बरामद भएका छन् । तर, यो क्रम केही वर्षयता निरन्तर छ । तस्करले परीक्षणका लागि यो विधि प्रयोगमा ल्याइरहेको हुन सक्ने अनुमान छ । त्यसैले यी घटनालाई गम्भीरताका साथ हेरिरहेका छौँ । हुलाक कार्यालयमा निरन्तर निगरानी राखेका छौँ ।’

अमेरिकी सरकारकै दबाबमा ०३३ देखि नेपालमा गाँजाको खेती मात्र होइन, गाँजा सेवन र बिक्रीमा समेत पूर्ण प्रतिबन्ध लागेको थियो । तर, अहिले अमेरिकाकै ४२ राज्यमा गाँजाखेती हुँदै आएको छ । त्यसबाहेक क्यानडा, थाइल्यान्ड, अस्ट्रेलिया, ब्राजिल, डेनमार्क, जर्मनी, ग्रिस, नेदरल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड, श्रीलंकालगायत ४५ भन्दा धेरै मुलुकले वैधानिक रूपमा गाँजाखेती गर्छन् । काठमाडौं विश्वविद्यालयका प्रा.डा. पन्ना थापाका अनुसार सन् २०१९ मा मात्रै विश्वभर कानुनी रूपमै २१ अर्ब अमेरिकी डलरको गाँजा कारोबार भएको छ । तर, नेपालमा गाँजाखेती पूर्ण रूपमा प्रतिबन्ध छ ।

गाँजाखेती हुने विश्वका मुलुकलाई ‘रेफरेन्स’ राख्दै पछिल्ला केही वर्षदेखि नेपालमा पनि गाँजाखेतीको सम्बन्धमा बहस सुरु भएका छन् । विशेष गरी पूर्वसांसद शेरबहादुर तामाङले सदनमै आवाज उठाएपछि गाँजाखेतीको बहस सतहमा देखियो । बहस चौतर्फी चल्यो । गृह मन्त्रालय पनि गाँजाखेती सम्बन्धमा अध्ययनमा

जुट्यो । नियन्त्रित ढंगले गाँजाखेती गर्न सकिने भन्दै नयाँ कानुनको तयारीमा जुट्यो । गृहले बनाएको ‘गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक’ अहिले कानुन मन्त्रालयमा पुगेको छ । थप अध्ययनका लागि कानुन मन्त्रालयले कानुन सेवा आयोग पठाएको छ । आयोगको रायलगत्तै विधेयक छलफलका लागि अब बन्ने संसद्मा पेस गरिने गृहका सहसचिव डा. भीष्म भुसालले बताए ।

उनले भने, ‘लामो बहसपछि हामीले ‘गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक’ तयार गर्‍यौँ । यो अहिले कानुन मन्त्रालयमा छ । काननुले राय लिन कानुन आयोग पठाएको हामीले सूचना पाएका छौँ । कानुनबाट स्वीकृत भएर आएलगत्तै यो अघि बढ्नेछ ।nayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार